उच्च शिक्षाको गन्तब्य गेन्स कलेज
उच्च शिक्षा हासिल गर्नका निम्ति विद्यार्थीहरुको शैक्षिक गन्तव्यका रूपमा गेन्स कलेज स्थापना गरिएको छ।
एम वि ए , विविए र विएस्सी सिएस्आइटी विषय अध्ययनका लागि सुदुरपश्चिम विश्वविद्यालयबाट हालै सम्बन्धन लिएर पोखरा–३, नदीपुरमा गेन्स (गण्डकी एकेडेमी अफ इन्टरडिसीपिनरी स्टडिज) कलेज स्थापना गरिएको हो ।
कलेजमा विएस्सी व्यवस्थापनतर्फ ४ वर्षमा आठ सेमेस्टर, विएस्सी सिएसआइटी (कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी) तर्फ ४ वर्षमा आठ सेमेस्टर तथा एम वि ए अन्तरगत २ वर्ष ४ सेमेष्टरमा अध्ययन हुनेछ ।
ज्याक मेजिरोको फिलोसफी (दर्शन) अन्तर्गत विद्यार्थीमा आधारभूत रुपान्तरित शिक्षा प्रदान गर्ने उद्देश्यका साथ कलेज स्थापना गरिएको कलेज प्रमुख विजय आनन्द शर्माले बताए। उक्त दर्शन अवलम्बनले गर्दा विद्यार्थीको व्यक्तित्वमा नै परिवर्तन आउने उनको भनाइ छ ।
कलेजमार्फत विद्यार्थीको व्यवहारमा परिवर्तन आउने, सिकाइका लागि विद्यार्थीलाई बढी जिम्मेवार बनाइने, व्यवहारिक तरीकाले समय समयमा समूह कार्य गराइने, विद्यार्थीहरुले खोज अनुसन्धानात्मक वातावरण प्राप्त गर्ने र विद्यार्थी स्वयं जागरुक भइ शिक्षण सिकाइ कार्यकलापमा सहभागी भएर उनीहरूको पठनपाठन हुने कलेजको भनाइ छ।
त्यसका साथै भविष्यमा के बन्ने ? कसरी बन्ने ? किन बन्ने ? कसरी उद्यमी हुने ? उद्यमी बन्दा व्यक्ति, समाज र राष्ट्रलाई समग्रमा के फाइदा हुन्छ ? असल नागरिकका दायित्वहरु के के हुन् ? लगायतका विषयहरुमा पनि पठनपाठनपश्चात् आवश्यक परामर्श गरिने व्यवस्था गरिएको छ ।
उच्च शिक्षाका लागि गेन्स कलेज पोखराकै महत्वपूर्ण शैक्षिक थलो बन्ने प्रमुख शर्माको दावी छ।”हामी नयाँ छौं, अनुभवी टिम पनि छ, नेपाल सरकारको स्वामित्वमा रहेको विश्वविद्यालयबाट सम्बन्धन लिएकाले शिक्षण शुल्क पनि तुलनात्मक रूपमा सर्वसुलभ नै छ, त्यसैले हामी सफल हुन्छौं ।”क्याम्पस प्रमुख शर्माले भने।
कलेजले विविए अध्ययनका लागि रु.३ लाख ९७ हजार, विएस्सी सिएसआइटीका लागि रु.५ लाख ५३ हजार तथा एमविएका लागि रु.३ लाख ५० हजार एकमुष्ट शुल्क निर्धारण गरेको छ।