गण्डकी प्रदेश सभा भवन शिलान्यास, २५ करोड लागतमा ३ वर्ष भित्र बनाइसक्ने

गण्डकी प्रदेश सभा भवनको शिलान्यास गरिएको छ । पोखरा–३ नदीपुरस्थित हाल प्रयोग भइरहेको भवन पछाडिपट्टि ७ रोपनी क्षेत्रफलमा नयाँ संरचना बन्न लागेको हो ।
मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नदीपुरमा भवनको शिलान्यास गरेका हुन् । भवन सम्पन्न गर्न २५ करोड ३७ लाख लागत लाग्नेछ । २०८१ माघ १८ गते सम्झौता भएको भवन निर्माण २०८४ माघ १७ गते सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँबानेश्वर काठमाडौंसँग २५ करोड ३७ लाख ८२ हजार ८ सय ६० रुपैयाँमा गत माघ १८ मा निर्माण सम्झौता भएको छ ।
४४ करोड ९४ लाख ९१ हजार रुपैयाँको लागत इस्टिमेट तयार गरी ०८१ साउन २१ मा बोलपत्र आव्हान् गरिएकोमा ३५ निर्माण कम्पनीले भवन बनाउने प्रस्ताव पेस गरेका थिए । त्यसमध्ये २६ कम्पनी छनोट भएकोमा सबैभन्दा कम लागत प्रस्ताव गरेको श्रेष्ठ एन्ड सन्स–इस्ट बेस्ट जेभी, नयाँ बानेश्वर काठमाडौंले निर्माणको जिम्मा पाएको हो ।
शहरी विकास तथा भवन कार्यालय कास्की प्रमुख सी.डी.ई ओमराज ढुंगानाका अनुसार नगर विकास प्रशिक्षण केन्द्रको स्वामित्वमा रही प्रदेश सरकारसँग भोगाधिकार भएको १ सय १० रोपनीमध्ये ७ रोपनीमा नयाँ भवन बन्न लागेको हो ।
अहिले भवन निर्माणको लागि प्रारम्भिक काम भैसकेको छ । निर्माणस्थल सम्म्याउने र डन्डी तेर्स्याउने काम भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
भवन तोकिएको समयअघि नै सक्ने लक्ष्य लिइएको निर्माण कम्पनीले जनाएको छ । मुख्यमन्त्री पाण्डेले छिटो काम सक्न निर्देशन दिए । ‘निर्माण अवधि ३ वर्षको भएपनि २ वर्षमै सकिदिनुस्,’ उनले भने, ‘हाम्रै कार्यकालमा सभा बस्न मिल्ने गरी काम गरिदिनु होला ।’
संसद् भवन बनाउनका लागि यसअघि डेढ अर्बको डीपीआर बनाइएको थियो । तर उक्त डीपीआर कार्यान्वयन गर्न नसक्ने भएपछि नयाँ डीपीआर बनाइएको हो । भवन निर्माणको योजना कार्यान्वयन सहरी विकास तथा भवन कार्यालय कास्कीले गर्ने सभामुख कृष्ण धितालले जानकारी दिए ।चालु वर्षका लागिमात्रै ९ करोड रुपैयाँ विनियोजन भएको सरकारले जनाएको छ ।



