नेपाली युवा उद्यमी मञ्चको ‘लिडर : आइडियाज फ्रम पोखरा’

पोखरा ।
नेपाली युवा उद्यमी मञ्चले क्यानाडास्थित वेस्टर्न विश्वविद्यालयको सहकार्यमा आइभी बिजनेश स्कुलका विद्यार्थीद्वारा संचालित लिडर प्रोजेक्ट गत २०१६ देखि निरन्तर सञ्चालन गर्दै आएको छ । जसअन्तर्गत मञ्च पोखरा च्याप्टरले पोखरा महानगरपालिकाको व्यवसाय प्रवद्र्धन केन्द्रको साझेदारीमा ‘दोस्रोपटक लिडर: आइडियाज फ्रम पोखरा’ कार्यक्रम गरेको छ ।
१२ दिनसम्म संचालित कार्यक्रममा ४० जना विद्यार्थीले भाग लिएका छन् । गत १५ वैशाखदेखि सुरु यो कार्यक्रमको उद्देश्य व्यवसाय प्रशिक्षणमार्फत उद्यमशीलता तथा आर्थिक विकासमा सघाउनु हो ।
‘लिडर प्रोजेक्ट’ मा संलग्न सबै प्रशिक्षकहरु, विश्वप्रसिद्ध आइभी बिजनेस स्कुलको विशिष्ट प्रकारको केस–अध्ययन प्रणालीबाट पढाउने प्रशिक्षण पाएका र कार्यक्रममा प्रयोग गरिएका पाठ्यक्रम विश्वस्तरिय रहेको प्रोजेक्ट संयोजक तथा मञ्चका कार्यसमिति सदस्य प्रतीकराज पहारीले बताए ।
आइभी बिजनेश स्कुलले अन्तर्राष्ट्रियस्तरमा नेपाल लगायत अन्य ७ देशहरुमा पनि आफ्ना विद्यार्थी ‘लिडर प्रोजेक्ट’ मार्फत प्रशिक्षकरुपमा पठाउने गरेको उनले बताए ।
‘लिडर ः आइडियाज फ्रम पोखरा,२०२५’ को अन्तिम चरणमा सहभागीले आ–आफ्नो बिजनेश योजना प्रस्तुत गर्नेछन् । सो प्यानलमा उद्योग विशेषज्ञ, उद्यमी र सो प्रोजेक्टका एल्मनी सदस्यको संलग्नता रहने छ । प्यानलद्वारा घोषित उत्कृष्ट बिजनेश योजना बनाउने पहिलो, दोस्रो, तेस्रो र चौथो समूहलाई ५१ हजार, ४१ हजार, ३१ हजार र २१ हजार प्रदान गरिने महानगर व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।
पोखरा महानगर आर्थिक विकास महाशाखा प्रमुख मनहर कडारियाले यसबाट स्थानीय उद्यमलाई सशक्त बनाउने, आर्थिक विकासमा टेवा पु¥याउने र भविष्यका उद्यमीलाई तयार पार्ने कार्यमा सघाउ पुग्ने बताउँछन्।



